Story

9:00 AM

श्रीमानले कण्डम लगाउन नमानेपछि…– कल्पना पौडेल काठमाडौँ, २५ मङ्सिर । लगातार तल्लो पेट असह्य हुने गरी दुख्न थालेपछि बर्दिया राजापुरकी सरिता बस्याल उपचारका लागि काठमाडौँ आउनुभयो । दुई सन्तानकी आमा सरितालाई बाँकी सन्तान जन्माउन रहर नभएकाले उहाँले पटकपटक गर्भपतन गराउँदा उहाँलाई तल्लो पेट दुख्ने समस्याले सताउन थालेको हो । पहिले नेपालगन्जको भेरी अञ्चल अस्पतालमा उपचार गराउँदा पाठेघरको समस्याले पेट दुखेको भनेपछि उहाँ राम्रो उपचारका लागि काठमाडौँ आएको बताउनुहुन्छ । प्रसूति गृह थापाथलीकी सुरक्षित गर्भपतन सेवा इन्चार्ज सुकुमाया तामाङ धेरै पटक गर्भपतन गराउँदा पाठेघर पातलिँदै जाने र कमजोरी बढ्ने समस्या आउने बताउनुहुन्छ । सरकारले १२ हप्तासम्मको गर्भ सरकारले नै पतन गर्ने अनुमति दिएपछि अस्पतालमा गर्भपतनका लागि आउने महिलाको सङ्ख्या बढेको इन्चार्ज तामाङको अनुभव छ । धेरै महिला अहिले पनि गर्भ राख्ने वा नराख्ने भन्ने विषयमा निर्णय लिन सक्ने नभएकाले पनि धेरै महिला अनपेक्षित गर्भ रहँदा पतनका लागि अस्पताल आउने चिकित्सक बताउँछन् । काठमाडौँ गौशालाकी ३५ वर्षीया पुनम डङ्गोल १० कक्षामा पढ्ने छोरीकी आमा हुनुहन्छ । उहाँ स्थायी परिवार नियोजनको साधन अपनाउँदा कमजोर भइने डरले गर्भरहे पतन गर्न पाइहाल्ने भएकाले आफूलाई सजिलो भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “महिलाले शल्यक्रिया गर्दा कमजोर भइन्छ, श्रीमान्ले गर्दा भरपर्दो हँुदैन त्यसैले केही नगर्ने, गर्भ रहेमा अस्पताल गई गर्भपतन गर्ने नि !” प्रसूति गृहकी सिनियर रजिस्ट्रार फोकलपर्सन डा पुण्य पौडेल यसरी पटकपटक गर्भपतन गर्नु खतरा हुने बताउनुहुन्छ । डा पौडेल भन्नुहुन्छ, “यसरी धेरैपल्ट गर्भपतन गराउँदा पछि चाहेको समयमा गर्भ नरहन पनि सक्छ, फेरि पाठेघरसम्बन्धी विभिन्न रोगलाग्ने र क्यान्सरसम्मको खतरा रहन्छ ।” श्रीमान्ले आफूलाई पनि साधन अपनाउन नदिने र आफूले पनि कुनै गर्भ निरोधक साधन अपनाउन नमान्दा नचाहँदै पनि गर्भ रहँदा गर्भपतन गराउन महिला बाध्य भएको बताउँछन् । नाम बताउन नचाहने काठमाडौँ कोटेश्वरकी ३९ वर्षीया पाण्डे थरकी महिलाले अहिलेसम्म पाँचपटक गर्भपतन गराएको बताउनुभयो । सधैँ अस्पतालमा गर्भपतन गराउन जाँदा नर्सले उहाँलाई गाली गरेको उहाँले सुनाउनुभयो । उहाँले श्रीमान्ले शारीरिक सम्पर्कको समयमा परिवार नियोजनका साधन अपनाउन नमान्दा धेरैपटक गर्भ रहँदा समस्या परेको बताउनुभयो । डा पौडेल भन्नुहुन्छ, “महिलालाई अहिलेको जमानामा धेरै बच्चा जन्माउँदा हुर्काउन समस्या परेको थाहा भएकाले सरकारले मान्यता दिएकाले उनीहरु निर्धक्क गर्भपतनका लागि आउने गरेका छन् ।” विवाहित महिला मात्र होइन स्कूल कलेज पढ्ने किशोरी पनि गर्भपतनका लागि आउने गरेको इन्चार्ज तामाङ बताउनुहन्छ । उहाँले पहिलो बच्चा नजन्माउँदा पनि विभिन्न समस्या देखिने गरेको उल्लेख गर्नुहुन्छ । आजभोलि केटासाथी बनाउने र शारीरिक सम्पर्क राख्ने चलन बढेकाले किशोरी गर्भवती हुने र गर्भपतनका लागि साथीसँगै अस्पताल आउने गरेको इन्चार्ज तामाङ बताउनुहुन्छ । आकस्मिक गर्भ निरोधक औषधि खाँदाखाँदै गर्भ रह्यो भनी अस्पताल आउनेहरु धेरै भएको बताउने इन्चार्ज तामाङ शल्यक्रिया गरी र औषधिबाट गर्भपतन गर्ने बताउनुहुन्छ । “१६ देखि ४९ वर्षसम्मका महिला यहाँ गर्भपतन गराउन आउँछन् । धेरै त सफा गर्दै बस्नेहरु छन्”, तामाङ भन्नुहुन्छ । सरकारले विशेष अवस्थाबाहेक १२ हप्तासम्मको गर्भलाई नचाहेमा गर्भपतन गराउने मान्यता दिएको छ । विशेष अवस्था भन्नाले आमा र बच्चाको स्वास्थ्य गम्भीर हुँदा, हाडनाता करणी, बलात्कार भई रहेको १८ हप्तासम्मको गर्भपतन गर्न पाउने व्यवस्था छ । प्रसूति गृहमा मात्र दैनिक १२ देखि १५ महिलाले गर्भपतन गराउने गर्छन् । यो सङ्ख्या कहिलकाहीँ बढ्ने गरेको अस्पतालको तथ्याङ्क छ । डा पौडेल निर्णय दिन सक्ने केही महिलाबाहेक अरू महिला प्रजनन अधिकारको प्रयोग गर्नसक्ने अवस्थामा नरहेको बताउनुहुन्छ । श्रीमान्को दबाबमा परी परिवार नियोजनका साधन सदुपयोग गर्न नसक्दा पाठेघर र यौन रोगका सिकार भएको उहाँको भनाइ छ ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images