Sexual and reproductive health and bio-diversity conservation, Green Youth stands READ MORE

6:17 PM




नीरज गौतम नेपालगन्ज,। बाँके जिल्लामा गठन गरिएका ग्रिन युथ नेपाल अहिले समुदायमा स्वास्थ्य चेतना जागृत गराउन तथा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा सक्रिय रहेको पाइएको छ । नेपाल परिवार नियोजन सङ्घ र विश्व वन्यजन्तु विकास कोषको साझेदारी परियोजनाअन्तर्गत गठन गरिएको ग्रिन युथमा सहभागी युवा र युवती ग्रामीण समुदायमा यौन तथा प्रजनन स्वास्थ्य, वन संरक्षण, जैविक विविधता तथा प्राकृतिक स्रोतको दिगो व्यवस्थापन गराउन लागिपरेका छन् । “प्राकृतिक स्रोतको दिगो व्यवस्थापनका लागि एकीकृत यौन तथा प्रजनन स्वास्थ्य र जैविक विविधता संरक्षण कार्यक्रमले लिएको रणनीति र उद्देश्य समुदायस्तरबाट मात्र पूरा हुने भएकाले पनि ‘ग्रिन युथ’ समूह गठन गरिएको हो”– सङ्घका वरिष्ठ शाखा प्रबन्धक अनिल बस्नेतको भनाइ छ । यसखाले कार्यक्रम तथा अभियानबाट विशेषतः ग्रामीण भेगका किशोरकिशोरी र युवावर्गमा महिला सशक्तीकरण, परिवार नियोजनमा पुरुष सहभागितामा वृद्धि, यौन तथा प्रजनन स्वास्थ्यमा महिलाको पहँुच बढेको पाइएको छ भने वन संरक्षण तथा वन्यजन्तु संरक्षणप्रति सिङ्गो समुदाय नै सङ्गठित भएका छन् । ग्रिन युथमा सहभागी भएर निरन्तर क्रियाशील समूहकी सहसचिव तारा विकलाई अहिले समुदायप्रतिको मोह पनि त्यतिकै जागेको पाइन्छ । बाँके महादेवपुरी गाउँलाई आफ्नो कार्यक्षेत्र बनाएर गाउँलेको पुरातनवादी सोचलाई परिवर्तन गर्न कम्मर कसेर लागेकी विकको भनाइ छ– “गाउँका अधिकांश परिवारमा अभै पनि छोरा नै चाहिने, पुरुष घरको कामप्रति उदासिन हुने, जाँडरक्सी जुवातास खेल्ने प्रवृति र वन, जङ्गल जति नासे पनि हुने सोचमा परिवर्तन ल्याउनु नै मेरो उद्देश्य र लक्ष्य हो ।” सङ्घद्वारा सञ्चालित कार्यक्रमले लिएको अपेक्षा पूरा गराउन पनि बाँके जिल्लाका असल युवायुवती तथा किशोरकिशोरीलाई कार्यक्रमको रणनीतिक योजनाभित्र समेटिएको छ भने क्षमता विकास, सेवा केन्द्रको विकास तथा क्षमता अभिवृद्धि, युवा सञ्जालको परिचालन, सामुदायिक सहभागिता, सहकार्य र सञ्जाल विस्तारलाई कार्यक्रमको कार्यनीतिभित्र राखिएको छ । बाँके जिल्लामा परिवार नियोजनप्रति जागरुकता बढाउँदै लैजान, समुदायकै सहभागितामा वन तस्करी, वन अतिक्रमण रोक्न, जैविक विविधता संरक्षणमा युवावर्गको सहकार्यलाई बढाउने र उनीहरुमा समाजसुधारको भावना जागृत गराउनु पनि कार्यक्रमको उद्देश्यभित्र परेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, परियोजना क्षेत्रका स्वास्थ्यचौकी, तराई भूपरिधि कार्यक्रम, बाँके राष्ट्रिय निकुञ्ज, जिल्ला वन कार्यालय, वन उपभोक्ता समूह, युवा उपसमिति, युवा सञ्जाल, परियोजनाअन्तर्गतका विद्यालय र युवा क्लबलाई स्थानीय सहयोगी संस्थाको रुपमा समेटिएको सङ्घका सुपरभाइजर राजेश शाक्य बताए । ग्रिन युथ नेपाल बाँके जिल्ला कार्यसमितिका अध्यक्ष चन्द्रकला बस्नेत, उपाध्यक्ष अम्मर शाही, सचिव वसन्तकुमार रावत मात्र हैन सो समूहका ४२ जना सदस्य प्रत्येक दिन समुदायसँगको भेटघाट, परिवार नियोजनको साधन वितरण, छोराछोरीप्रति भेदभाव गर्नाका परिणाम, वन संरक्षणका उपाय, जैविक विविधता संरक्षणले समुदायमा पार्न सक्ने फाइदाका विषयमा क्रियाशील भएको पाइन्छ । सामुदायिक वन तथा वातावरण संरक्षण समन्वय समिति कम्दी र महादेवपुरी क्षेत्रका वन उपभोक्ता समूह, बाल क्लब, आमा समूह, चोरी सिकारी नियन्त्रण समूह, चरिचरन व्यवस्थापन समूह, आगलागी नियन्त्रण समूह तथा सङ्घद्वारा गठित १० देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरी तथा २० देखि २४ वर्ष उमेर समूहका युवा र सेक्टर समूह परियोजनाबाट प्रत्यक्ष लाभान्वित भएका छन् । त्यसैगरी बेचबिखनमा परी पारिवारिक पुनःमिलन गराइएका किशोरकिशोरी तथा महिला, पाठेघर खस्ने समस्याले पीडित महिला, यौनरोग तथा एचआइभी सङ्क्रमित महिला तथा पुरुष तथा परियोजना क्षेत्रका सबै बालबालिकालाई पनि लाभान्वित समूहअन्तर्गत समेटिएको छ ।


You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images