नेपालमा साहसिक खेल स्कीको विकास गर्न विद्यालय खोलिने READ MORE NEWS

11:23 PM


ski-holidays-france



काठमाडौं, २७ भदौ । अग्ला हिमाल र चुली प्रशस्त रहेको नेपालमा हिउँमा चिप्लिएर खेलिने साहसिक खेल स्कीको विकास एवम् प्रवद्र्धनको प्रयास सुरु भएको छ । हिमालको आधारशिविर, चुली एवम् हिमाली क्षेत्रमा हिउँ पाइने भएकाले स्की खेलको विकास गरेर पर्यटक आकर्षित गर्न स्की तथा स्नोबोर्डिङ प्रतिष्ठान नेपालमा आबद्ध युवाले विदेशीको सहयोगमा तालिम चलाउँदै स्की स्कुल स्थापनाको कामअघि बढाएका छन् । यस कार्यमा जर्मनीका २४ वर्षीय जुलीयस सेईडेन्डर र ज्याकोव थाउ लागिपरेका छन् । क्यानडाबाट अन्तर्राष्ट्रिय मान्यता प्राप्त इजाजत पत्र लिएका जुलियस स्की र स्नोबोर्डिङ तथा ज्याकोव स्नोबोर्डिङका प्रशिक्षक हुन् । “स्की तथा स्नोबोर्डिङ नेपालमा पर्यटक आकर्षित र प्रवद्र्धन गर्ने साहसिक खेलका रुपमा विकास गर्न सकिन्छ,” तेस्रो पटक नेपाल आएका जुलियसले भने । हिमाली क्षेत्रमा प्राकृतिक रुपमै मुख्य सिजनमा हिउँ पाइने भएकाले साहसिक खेलको रुपमा यसको विकास गर्न सकिने जुलियसको धारणा छ । उनले सिजनमा अस्ट्रियासहितका देशमा स्की सिकाउने गरेका छन् ।

उनीसहितको टीमले सोलुको मेरा पीकमा ९६४६५ मिटर० बुधबारदेखि पदयात्रा पथप्रदर्शक छ जनालाई २० दिने स्कीको तालिम दिन थालेको छ । पहिलो स्की नेपाल एक्सपीडिसनमा माउन्टेन एकेडेमी नेपालले सहयोग गरेको छ । मेरा ला भञ्ज्याङबाट चुलीतर्फ हुने प्रशिक्षणमा हिउँ पहिरोमा गरिने उद्धारसहित खेलको व्यवहारिक पक्षबारे प्रशिक्षण दिइने प्रतिष्ठानका कोषाध्यक्ष सुरज काफ्लेले बताए । “एक प्रकारको यन्त्र (डिभाइस) समेत हुने भएकाले आरोही हिउँमा पुरिदा पत्ता लगाउन सकिने खालको उद्धार विधि र स्की एवम् स्नोबोर्डिङका नयाँ पुराना तौरतारिका, सीप र ज्ञान दिइन्छ,” कोषाध्यक्ष काफ्लेले भने । यसमा झन्डै रु पाँच लाख बढी खर्च लाग्नेछ ।

खेलमा आवश्यक स्की स्कीन, स्की स्टीक, स्की बुट, स्नोबोर्ड जस्ता सामग्री जर्मनी, अस्टे«लिया, स्वीट्जरल्यान्डबाट सहयोग आएको छ । आउँदो डिसेम्बर र फेब्रुअरीमा ६ विदेशी प्रशिक्षकसहित लाङटाङ र रोल्वालिङमा थप तालिम गर्ने योजना छ । हिमालयन स्की टे«डर्ससँग मिलेर स्की फेस्टिबल गरिनेछ । सन् २०११ मा जुलियस र ज्याकोव पहिलोपटक नेपाल घुम्न आएका थिए । दोलखाको चरिकोटमा सिसारकर्स ब्यान्डका उत्सव पाठक, सुरज काफ्लेसहितका गीतसङ्गीतमा रमाइरहेका युवालाई कालिञ्चोक जाने बाटो सोध्न पुगे । उनीहरुले ढिला भएकाले कालिञ्चोक पुग्न नसकिने भन्दै भोलिपल्ट जान सुझाए । तर भोलिपल्ट ती दुई विदेशी कालिञ्चोक जानुको साटो दुईहप्ता चरिकोटमै बसेर गीतसङ्गीतमा रमाउँदै घुमफिर गरी घर फर्के ।

सामाजिक सञ्जालमा जुलियसले स्की खेल्दै गरेको फोटो राखेपछि हिमाली क्षेत्रका दोलखाली युवाले आफूहरुलाई पनि स्की खेलको रहर भएको बताए । त्यसपछि स्की तथा स्नोबोर्डिङ प्रतिष्ठान खोलेर सन् २०१६ को जनवरीमा रोल्वालिङ गौरीशङ्कर संरक्षण क्षेत्रको च्छो रोल्पा नजिकै चार हजार ३०० मिटर उचाइको नाँ मा २५ जनालाई तालिम दिएको प्रतिष्ठानका अध्यक्ष उत्सव पाठकले बताए । तीनहप्ते निःशुल्क सो तालिममा विद्यार्थी, हिमाल तथा पदयात्रा पथप्रदर्शक सहभागी थिए । तालिममा करिब रु २० लाख खर्च लागेको थियो । हिमाली देश नेपालमा स्कीको प्रचुर सम्भावना रहेकाले वर्षको ६/७ महिना हिउँ पर्ने ठाउँमा स्कुलनै खोल्ने प्रयास भएको प्रतिष्ठानका अध्यक्ष पाठकले बताए । भारतको उत्तराखण्ड, हिमाञ्चल, काश्मिर, पाकिस्तान, अफगानिस्तान, काजकिस्तानलगायतका देशमा यस्ता प्रशिक्षण स्कुल एवम् रिसोर्ट समेत रहेको सन्दर्भमा नेपालमा पनि यसको खाँचो औल्याइएको हो ।

दशपटक सगरमाथा चढेका कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले दोलखा क्षेत्रमा स्कुल स्थापना गर्ने भएमा जग्गाको लागि सहयोग गर्ने बताए। “राम्रो हिउँ पर्ने ठाउँ चाहिन्छ, साहसिक खेलको रुपमा नेपालमा यसको विकास जरुरी छ,” शेर्पाले भने । दोलखा, सोलु, मनाङ वा रोल्वालिङ सम्भावित क्षेत्र भए पनि स्कुल स्थापना गरिने ठाउँको टुङ्गो लागेको छैन । नयाँ भवन बनाउने वा भइरहेको भवनमा पूर्वाधार खडा गर्ने पनि टुङ्गो लागेको छैन । तर लगानी जुटाउन इन्टरनेटमा विश्वव्यापी रुपमा ‘क्राउड फन्डिङ’ अभियान सुरु गरिएको जुलियसले जानकारी दिए ।

“हामीहरु युवा छौ काम गर्न सक्छौँ र स्की स्कुल स्थापना गरेर नेपाललाई स्की खेलको उत्कृष्ट गन्तव्य बनाएर पर्यटन प्रवद्र्धनमा मद्दत गर्छौं,” जुलीयसले भने । 

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images